आइतबार ३० भदौ २०८१
समाज

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरमा पूजा आराधना

सोमबार भदौ १०, २०८१/ Monday 08-26-24

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन् ।

यसअघि कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यबाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गरेका थिए ।

मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गरेका थिए । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्र प्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ ।

भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरका साथै मुलुकभरका कृष्ण मन्दिरहरुमा आज दिनभर भक्तजनको घुइँचो लागेको छ ।

तपाईको प्रतिक्रिया