आइतबार ३० भदौ २०८१
राजनीति

बुढानीलकण्ठ वार्ता: चुनावी गठबन्धन नगर्ने र ‘एक्जिट पोलिसी’को प्रस्तावमा गगन-विश्वले छाडेनन् अडान

मंगलबार भदौ ११, २०८१/ Tuesday 08-27-24

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन संशोधन नगर्ने अडान लिएपछि आज सभापति शेरबहादुर देउवा निवासमा भएको वार्ता विफल भएको छ ।

महामन्त्री थापाले चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र अर्का महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा विवाद चलिरहेको छ ।

जारी केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरुले विरोध जनाएपछि सभापति देउवाले महामन्त्रीद्वयको प्रतिवेदनमा मध्यमार्गी बाटो खोज्न बुढानीलकण्ठमा छलफल राखेका थिए । छलफलमा महामन्त्रीद्वयसँगै उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए ।

तर आजको बैठकमा सहमति नजुटेपछि देउवाले बैठक १६ गतेलाई सारेर भोलि पनि महामन्त्रीद्वयसँग छलफल गर्दैछन् । भोलि बिहान ९ बजे छलफलको लागि बोलाइएको छ ।

आजको वार्ता सकारात्मक भएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘छलफल चलिरहेको छ, मिल्ने कुरा नजिक नजिक भएको छ । दस्तावेज लेख्न पनि समय लाग्ने भएपछि भोलि नै नभ्याइने भएर १६ गते बैठक सारेका हौं ।’

उनले दुवै प्रस्तावको विषयमा कुरा सकारात्मक ढंगले अघि बढेको दाबी गरे ।

प्रचार विभाग प्रमुख विश्वकर्माले थपे, ‘गगनजीको प्रस्तावको विषयमा गठबन्धनको कुरा अहिले नै गरेर जाने कुरा भएन । २०८४ को निर्वाचनअघि २०८२ मा नयाँ नेतृत्व आउँछ, त्यही गर्छ भन्ने छ । सर्वसम्मत गर्ने भनेपछि उहाँ पनि तयार हुनुपर्छ । अहिले टुंगिसकेको छैन । टुंगिने सम्भावना बढी छ ।’

‘एक्जिट पोलिसी’ बारे पनि कुरा भइरहेकाले अहिले नै यस्तो हुन्छ भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

महामन्त्री शर्माले संविधानमा नभएको विषयलाई पार्टीको दस्तावेजमा ल्याएको भन्दै ‘एक्जिट पोलिसी’ बारे अहिले हटाएर आवश्यकअनुसार पछि छलफल गर्न देउवा तयार देखिएका छन् ।

तपाईको प्रतिक्रिया