आइतबार ३० भदौ २०८१
राजनीति

एकनारायण अर्याल मुख्यसचिव नियुक्त

बिहीबार भदौ १३, २०८१/ Thursday 08-29-24

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सचिवको बरियतामा चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त भएका हुन् ।

मुख्यसचिव लिलादेवी गड्तौला सहित ७० जना बिशिष्ट श्रेणीको सचिवमा सबैभन्दा वरिष्ठ सचिव योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, दोस्रो नम्बरमा खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए ।

को हुन् अर्याल ?

२०२४ मंसिर १० मा जन्मिएका अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा ५८ वर्षे सेवा अवधिका कारण २०८२ मंसिर २४ गतेसम्म अर्थात बढीमा एक वर्ष मुख्यसचिवको जिम्मेवारी पूरा गर्नेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्त भएपछि अर्यालले गृह सचिवको जिम्मेवारी पाएका थिए ।

गृह सचिवको जिम्मेवारी पाउनुअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्दै आएका थिए । ४ वर्षअघि सहसचिवबाट सचिवमा बढुवा भएपछि अर्यालको पहिलो पदस्थापन काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भएको थियो ।

अहिले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी सहसचिवकै कायम भइसकेको छ । काठमाडौं महानगरपछि अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव जिम्मेवारी सम्हालेका थिए भने त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

श्रम मन्त्रालयपछि उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको थियो । अर्याल मुख्यसचिव नियुक्त नभएको भए ५ वर्षे सचिवको कार्यकालबाट ६ महिनापछि आगामी फागुन १८ गते अनिवार्य अवकाशमा जाने थिए ।

अर्यालले मुख्यसचिवको जिम्मेवारी १५ महिना पुरा गरेर आगामी २०८२ मंसिर २४ गते अनिवार्य अवकाश पाउनेछन् ।

तपाईको प्रतिक्रिया