आइतबार ३० भदौ २०८१
समाज

प्रकाशको पर्खाइमा परिवार, वैशाखी टेक्ने बुवालाई छोरा सहारा बन्ने आशा (भिडिओ)

शुक्रबार भदौ १४, २०८१/ Friday 08-30-24

काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ को भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित घरमा केही दिनयता आउजाउ बाक्लिएको छ ।

प्रकाशका बाउआमा र परिवारलाई भेट्न उनीहरूलाई सहयोगको प्रतिवद्धता जनाउन दलका नेता-कार्यकर्तादेखि जनप्रतिनिधिको लर्को लागिरहेको छ ।

८० वर्ष नाघेका बाबु लोकबहादुर वैशाखीको सहाराबिना थिग्रिनसम्म सक्दैनन् । आमा पनि ७५ को हाराहारी पुगिन् । माया मारिसकिएको छोरा फर्किएर आएकोमा उनीहरूमा खुसीको सीमा छैन । सँगसँगै, आफ्नो उपचार र घरखेतीको आशा पनि जागेकाे छ ।

बुवाले कहिलेकाहीँ सपनामा देख्ने गरेकाले छोरा आउने झिनो आस चाहिँ कताकता थियो भने ।

बुबाआमाका अनुसार प्रकाश अहिले ४३ वर्षका भए । ७/८ वर्षमै कान्छी दिदीसँग काठमाडौं गएका उनी ११ वर्षजतिको हुँदाबाट बेखबर भएको आमा सुनाउँछिन् ।

छोरा त फर्क्यो तर गरीखाने ठाउँ नभएको नागरिकता पनि नबनाएको भन्दै फर्किएको उनले सुनाइन् । पोहोर दशैँमा आउँदा प्रकाशले भेडा, गोरु किनेको, बिरुवामा सिँचाइका लागि पाइप किनेको आफूहरूलाई पनि राम्रो ख्याल गरेको उनले बताइन् ।

कृष्णकुमार राईको जग्गामा टाटीको सानो घर बनाएर उनीहरू बसेका छन् । आफ्नो नामको जग्गाजमिन कहीँ नभएको लोकबहादुरले बताए । सोलुखुम्बुबाट झापा हुँदै भोजपुरतिर उक्लिएका रहेछन् प्रकाशका बाबुआमा ।

‘घरमा समस्यै समस्या रछ । नागरिकता पनि छैन, गरी खाने ठाउँ छैन । थ्याच्च बस्ने ठाउँ पनि छैन कसरी बस्नु भन्दै मन कुँडियार गयो । दशैँअगाडि आउँछु भन्दै गाको थियो । अहिले चाहिँ अब आइहाल्छु भन्दैछ’, बाबु भन्छन् ।

बुबा लोकबहादुर मिडियाले छोरालाई ल्याइदेको भन्छन् । तर, कसले ल्याइदेको यकिन भन्न सक्दैनन् ।

‘मिडियाले ल्याइदेको हो कहाँको हो को हो थाहा भएन । अझै पनि भिडिओमा आइरहन्छ’, उनले सुनाए ।

नागरिकता घरमै दिलाउँछौं : मेयर

उनको नागरिकताका लागि प्रधानमन्त्रीले पनि चासो देखाएका छन् । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास बुधबार दिउँसो प्रकाशको घर पुगेका थिए । प्रकाश आउनासाथ घरैमा नागरिकता दिने उनले बचन दिए ।

चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहूजीले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ । यो दुवै रकम प्रकाशको खाता खोल्नासाथ जम्मा गरिने लामाले बताए ।

हिजो राति गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङकोमा बास बसेका प्रकाशलाई आज गाउँपालिकाले नै गाडीमा हालेर काठमाडौं पठाउने तयारी गरेको छ । उनी काठमाडौं आएर भोलिसम्म भोजपुर लाग्ने छन् ।

तपाईको प्रतिक्रिया