शनिबार १२ असोज २०८१
समाज

विवादमा तानिएकी भैंसेपाटीमा कार्यरत इन्स्पेक्टरको जिम्मेवारी खोसियो, छानबिन समिति गठन

बिहीबार असोज १०, २०८१/ Thursday 09-26-24

ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीमाथि छानबिन सुरू भएको छ। उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । 

शाहीमाथि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन गर्न समिति गठन गरेको हो।

उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ ।

समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ । समितिलाई यथाशक्य प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

छानबिन गर्न कार्यालयले उनको जिम्‍मेवारी पनि खोसेको छ। परिसरले यस घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया