काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निकालिएका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएका आरोपहरू प्रचण्डले नेकपाको समयमा लगाएको १९ पेज लामो पत्रको कपीपेस्ट जस्तो भएको टिप्पणी गरेका छन् ।
च्यासलमा बसेको सचिवालय बैठकपछि ज्ञवालीले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा यस्तो टिप्पणी गरेका हुन् ।
“२०७७ साल कार्तिकमा लगभग यिनै भाषामा प्रचण्डले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई यस्तै खालको टिप्पणी गर्नुभएको थियो,” ज्ञवालीले भने, “सायद १९ पेजको थियो । एक हिसाबले कपी पेस्टजस्तै हो ।”
उनले गालीगलौजले देश नबन्ने पनि बताए । “एक जमाना थियो, बाबुराम भट्टराईजी, प्रचण्डजी पुराना दललाई डिक्सनरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो,” ज्ञवालीले भने, “रवि लामिछानेजी पनि गालीगलौजबाटै उदाएको हो । गालीगलौजले देश बन्दैन ।”
साढे ३० पृष्ठको गालीगलौज र आधा पृष्ठ मात्र योजना रहेकाले रावलमा कति नकारात्मकता रहेछ भन्ने प्रस्ट भएको उनले बताए । रावलको अभिव्यक्ति अपेक्षित नै भएको उनले उल्लेख गरे । एमाले गालीगलौजको प्रतिस्पर्धामा नरहेको उनको भनाइ छ ।
संगठित सदस्यता खोसिएपछि रावलले बुधबार एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ७४ प्रश्न र आरोप लगाएका थिए ।
यही पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकका निम्ति अध्यक्षले तयार गरेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामाथि बिहीबार छलफल गरिएको थियो । सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।
तपाईको प्रतिक्रिया