भीम रावलको प्रश्न : पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?
काठमाडौं । नेकपा (एमाले) बाट निकालिएका भीम रावलले विकल्पबाट हिँड्न बाध्य भएको बताएका छन्।
एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताएका हुन्।
'देशभक्त मूल्य र मान्यतामा हिँड्नेहरू केपी ओली गुटको कोपभाजनमा पर्न थाले। यस्तै कोपभाजनामा पारेर निरंकुश र अन्यायपूर्ण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्पबाट हिँड्न बाध्य भएको छु,' उनले भने।
‘६ कात्तिकमा स्पष्टीकरण हात पर्यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो,’ रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो । पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । म छक्क परेँ ।’
उनले अघि प्रश्न गरेका छन्, ‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?’
उनले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको बताए ।
‘यसरी स्थान उल्लेख नहुनु केपी ओली गुटको म प्रतिको पूर्वाग्रह र चरम द्वेष र निषेधात्मक मनस्थितिको प्रतिबिम्ब हो,’ रावलले भने ।
तपाईको प्रतिक्रिया