ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेससँग सत्ता सहयात्राको औचित्य पुष्टि गर्ने प्रयास
काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा तयार गरिएको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका लागि तयार गरिएको प्रतिवेदन पेश गरिने जानकारी दिएका छन् । बैठकमा प्रतिवेदनका मुख्य बुँदाहरूमा छलफल भएको पनि उनले बताए।
ज्ञवालीका अनुसार उक्त प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको छ । २०८१ फागुनयता एमाले केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । एमालेको विधानमा हरेक ६ महिनामा बस्ने भनिएको छ । तर एमाले सत्ताको खेलमा लाग्दा केन्द्रीय कमिटी बैठक पनि १० महिनापछि बस्दैछ ।
ज्ञवालीका अनुसार गत असार ३० गते नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनेपछि बस्न लागिरहेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।
ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेससँगको सहकार्यबारे विस्तृतमा ब्याख्या गरेका छन् । ‘किन नेकपा एमाले र कांग्रेसको सहकार्य भयो ? यस सहकार्यको औचित्य र त्यसले सिर्जना गरेको अवस्थाबारे प्रतिवेदनमा विस्तृत विवेचना गरिएको छ’, ज्ञवालीले अगाडि भने, ‘यसका साथै कांग्रेससँग मिलेर सरकार गठनयताको ६ महिनाको पनि राजनीतिक प्रतिवेदनमा समीक्षा गरिएको छ ।’
ओलीको प्रतिवेदनमा सरकारले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको कुरा पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा सरकारले बाँकी रहेका कामलाई सम्पन्न गर्नुपर्ने, जनतालाई दिनुपर्ने डेलीभरीको पाटोमा धेरै काम अझै रहेको कुरा पनि समीक्षात्मक रुपमा स्वीकारिएको छ ।
ओलीले अर्थतन्त्र सुदृढीकरण र विकासको पाटोमा राम्रो काम भएको कुरा प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाको विवेचना पनि गरिएको ज्ञवालीले पत्रकारहरूलाई बताएका छन् ।
ओलीले आफ्नो प्रतिवेदनमा देशमा अराजकताको अवस्था आउन लागेको पनि चर्चा गरेका छन् । ‘पछिल्लो समय देशमा बन्न लागेको अराजक अवस्थाको पनि समीक्षा गरिएको छ’, ज्ञवालीले भने, ‘अराजक अवस्था उत्पन्न गरेर देशलाई अप्ठ्यारोतिर लैजान गरिएका प्रयासबारे प्रतिवेदनमा ब्याख्या गरिएको छ ।’
बिहीबारको सचिवालय बैठकमा पनि मूलत: ओलीले लेखेको राजनीतिक प्रतिवेदनमै केन्द्रित भएर छलफल गरिएको पनि ज्ञवालीले बताएका छन् ।
तपाईको प्रतिक्रिया