Skip This
आइतबार २१ पौष २०८१
राजनीति

प्रचण्डको प्रश्न : भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो, त्यसरी गएका छौं त ?

शुक्रबार पौष १९, २०८१/ Friday 01-03-25

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध सबै एक हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नव निर्वाचित कार्य समितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

उनले आफू भावुक प्रकृतिको भएकाले कहिलेकाहीं आफूले बोलेका शब्द तलमाथि पर्नसक्ने बताए । उनले आफू सरकारमा हुँदा र नहुँदा पनि एउटै कुरा गरेको तर कहिलेकाहीं भावुक हुँदा शब्द तलमाथि पर्न जाने गरेको बताएका हुन् ।

‘मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु भन्ने मेरो विश्वास छ । कहिलेकाहीं शब्द तलमाथि पर्नसक्छ, किनभने म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ । तर मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले र सबै साथीले बुझ्दै जानु भएको छ’, उनले भने ।

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एक भई जानुपर्ने र एकले अर्कोलाई दोषारोपण गरेर नहुने पनि उनले बताए । ‘तर जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेका छन् । गम्भीर ढंगले जनताले हेर्न चाहेका छन् । इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरुरी छ । सहमति त्यसको निम्ति हुनुपर्छ’, उनले भने ।

तपाईको प्रतिक्रिया