Skip This
आइतबार २१ पौष २०८१
समाज

ठगीमा मुछिएपछि लेखा समितिका सभापतिको स्वकीय सचिव बर्खास्त

शुक्रबार पौष १९, २०८१/ Friday 01-03-25

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्नको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् । संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन् । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका छन् ।

उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । परमादेश पुस ११ मा प्रमाणीकरण भएकोमा शुक्रबारसम्म सभापति पोखरेलको स्वकीय सचिवमा अनिल पोखरेलले नै काम गरिरहेका थिए ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले भनेका छन्– मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निज माथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको ब्यहोरा अनुरोध गर्दछु । 

भ्रष्ट्राचार जन्य क्रियाकलापमा संलग्न जो कोही माथि निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाही हुनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको पनि सभापति पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

तपाईको प्रतिक्रिया