बुधबार २१ जेठ २०८२
अर्थ

नेपाली नोटमा पृथ्वीनारायण शाहकाे फोटो राखौं: सूर्य थापा

सोमबार जेठ १९, २०८२/ Monday 06-02-25

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली रुपैयाँमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्ने प्रस्ताव गरेका छन्।

सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा बसेको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको संशोधन विधेयकमाथि गभर्नर विश्वनाथ पौडेलसहितको छलफलका क्रममा थापाले उक्त प्रस्ताव राखेका हुन्।

उनले आफू राजावादी नभए पनि नेपाल एकीकरण गर्ने ऐतिहासिक योगदानलाई सम्मान गर्न पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्नु उपयुक्त हुने तर्क गरे।

“म राजावादी होइन, गणतन्त्रवादी हुँ। गणतन्त्र स्थापनाका लागि लडेकै हो। तर नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्नुपर्छ,” थापाले भने, “यसले नोटको इज्जतसमेत बढाउँछ।”

त्यसैगरी, सांसद थापाले बुद्धको तस्बिरसमेत नेपाली नोटमा समावेश गर्नुपर्ने धारणा राखे। उनले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता व्यक्तित्वहरूलाई नोटमा स्थान दिनुले राष्ट्रिय पहिचान र नोटको मूल्य दुवै बढ्ने बताए।

तपाईको प्रतिक्रिया