मंगलबार २० जेठ २०८२
राजनीति

पूर्वराजालाई माधव नेपालको चुनौती : मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्

बिहीबार जेठ १५, २०८२/ Thursday 05-29-25

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 

अध्यक्ष नेपालले भने- ‘गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन । राजतन्त्रको बारेमा कुरा उठिरहेको छ । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, नातिले कुन दिन पनाति जन्माउँछ, जन्मिँदै गरेको पनातिलाई जिम्मा दिऊँ भन्ने कुरा आउला । त्यसकारण यस्तो वंशको शासन हामीलाई चाहिएको छैन । मुलुक सञ्चालन गर्ने यदि कसैलाई चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ । हामी प्रतिस्पर्धाको मैदानमा चुनौती दिन्छौँ । प्रतिस्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्ने आँट गर्नुपर्‍यो । 

उनले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिस्पर्धाबाट प्रधानमन्त्री बन्न चुनौती दिए । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव नरहेको समेत उनले बताए । 

तपाईको प्रतिक्रिया