शनिबार १२ श्रावण २०८१
बिजनेस

विकास बैंकहरूले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने

बुधबार श्रावण ३, २०८०/ Wednesday 07-19-23

काठमाडौं । विकास बैंकहरूले दीगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । हाललाई नौ क्षेत्रमा गरिने लगानीलाई हरित कर्जा योजनाअन्तर्गत समेट्ने निर्णय डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालले गरेको हो । एसोसियसनले कृषिजन्य, वनजन्य जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केबलकार/रोपवे, विद्युतीय सवारी साधन र फोहोर पानी प्रशोधन गर्ने उद्यमा कर्जा योजना ल्याएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानी तुलनात्मक रूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दीगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले ‘हरित कर्जा योजना’ ल्याउने निर्णय एसोसियसनले गरेको हो ।

हरित कर्जा योजनामा गरिने लगानीका लागि विस्तारै स्रोतको सुनिश्चतता पनि गर्दै जाने उद्देश्यले ‘हरित निक्षेप योजना’ पनि ल्याउने भएको छ । ‘हरित निक्षेप योजना’ मा अन्य बचत र मुद्दती निक्षेपमाभन्दा ०.२५ प्रतिशत अंकले बढी ब्याज प्रदान गर्ने र ‘हरित निक्षेप योजना’मा अन्य सोही प्रकृतिको कर्जा योजनामाभन्दा ०.२५ प्रतिशत अंकले कम ब्याजमा कर्जा प्रवाह गर्ने गरी कर्जा योजनाको प्रडक्टपेपर विकास गरिने बताइएको छ ।

सदस्य बैंकहरूले आ–आफ्ना बैंकको व्यावसायिक रणनीति अनुसार अझ बढी सुविधा दिनेगरी प्रडक्ट पेपरलाई विकास गर्न सक्ने निर्णय पनि एसोसियसनले गरेको छ । कार्बन उत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग तथा व्यवसायले हरित कर्जा सुविधा लिन नपाउने बताइएको छ ।

आ–आफ्ना बैंकका सञ्चालक समितिबाट प्रडक्टपेपर स्वीकृत गराई ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ बजारमा ल्याउनका लागि एसोसियसनले आफ्ना सदस्य बैंकहरूलाई परिपत्र जारी गरिसकेको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया