शनिबार १२ श्रावण २०८१
खेलकुद

सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवार निकासा हुने

बिहीबार भदौ २८, २०८०/ Thursday 09-14-23

काठमाण्डौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताउनुभएको छ ।

आज बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औँ एसियाली खेलकुदका लागि भाग लिन चीन जाने नेपाली खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले घोषणा गरिएको पुरस्कार खेलाडीले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक कारण र नीतिगत कारणले दिन नसकिएको उल्लेख गर्नुभयाे । अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रवार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने प्रधानमन्त्रीको भनाइ थियो । 

सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिन प्रचण्डले खेलाडीसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीले आजसम्म पनि नपाएको भन्ने कुरा मलाई जानकारी छ । केही प्राविधधिक कारणले, केही नीतिगत कारणले ढिला हुन गएकोमा म दुःख व्यक्त गर्न चाहन्छु । मैले नै खेलाडीलाई घोषणा गरेको पुरस्कार नियमावलीको अभावको कारण भनेर निकासामा समस्या परेको थियो, अहिले त्यो नियमावली बनेको छ । अर्थ मन्त्रालयबाट त्यसको स्वीकृत भई आजै खेलकुद मन्त्रालयमा आइपुगेको छ, भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ । सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेपछि हुँदैन कि भन्ने टेन्सन नलिनु होला ।’

खेल क्षेत्रका भनेजस्ता पूर्वाधार नरहेको उल्लेख गर्दै उहाँले आधुनिक सुविधा सम्पन्न रङ्गशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलका निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । एसियाली खेलकुद हेर्न आफू उद्घाटन सत्रमा भाग लिने भन्दै प्रधानमन्त्री प्रचण्डले त्याे क्षण आफ्ना लागि गौरवको विषय हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया