शनिबार १२ श्रावण २०८१
ग्यालरी

राष्ट्रपति पौडेल र कोरियाली कृषिमन्त्रीबीच भेटवार्ता- नेपालको कृषिमा आधुनिकीकरणमा सहयोग गर्न आग्रह

बिहीबार कार्तिक १६, २०८०/ Thursday 11-02-23

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेशाको रुपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकीकरणका लागि कोरियाली सरकारलाई आग्रह गरेका छन् ।

उनले नेपालमा कृषि विकासको प्रचुर सम्भावना रहे पनि परम्परागत प्रणाली यसको बाधक भएको बताउँदै प्रविधिमा ठूलो फड्को मारेको कोरियाले प्रविधि र लगानीमार्फत सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले गणतन्त्र कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री ज्योङ ह्वाङ-गेउनसँग बिहीबार भएको शिष्टाचार भेटमा कृषिमा गरिने लगानीमा कर नलगाउने नेपाल सरकारको नीति रहेकोतर्फ ध्यानाकर्षण गराएको पनि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

‘नेपालमा कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास भएमा देश समृद्ध हुन्छ । तर, हाम्रो कृषि आम्दानी र रोजगारीको रुपमा पेशा बन्न सकेको छैन । सबै किसान छन्, सबै बेरोजगार जस्तै छन्’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै सल्लाहकार पोखरेलले भने, ‘कृषिलाई रोजगारी र आम्दानीको पेशा बनाउन नयाँ प्रविधि र लगानी आवश्यक छ । कोरियाले प्रविधिमा गरेको चमत्कारिक विकासबाट नेपालले लाभ लिन सक्यो भने कृषि साँच्चिकै महत्वपूर्ण पेशाको रुपमा विकास हुन्छ ।’

राष्ट्रपति पौडेलले नेपालमा कृषि औजार कारखाना, रसायनिक तथा प्रांगारिक मल कारखाना, कृषि चिस्यान केन्द्रको स्थापना, कृषि उत्पादन प्रोसेसिङ उद्योगलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताए ।

राष्ट्रपति पौडेलले कोरियाको कृषि क्षेत्रमा धेरै नेपाली श्रमिकहरु कार्यरत रहेको र उनीहरुले राम्रो पनि गरिरहेको उल्लेख गर्दै उनले कृषि श्रमिकलाई समान रुपमा व्यवहार हुने विश्वास व्यक्त गरे ।

उनले कोरियामा रहेका नेपालीहरुको बचतलाई जम्मा गर्न नेपाली बैंकको स्थापना हुन सके सहज हुने र यसका लागि आवश्यक पहल लिन पनि आग्रह गरेका थिए ।

पोखरेलका अनुसार कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री गेउनले नेपालको कृषि क्षेत्रको विकासमा हरेक किसिमका सहयोग गर्न कोरियाली सरकार इच्छुक रहेको बताउँदै राष्ट्रपति पौडेलले चासो दिएको मल कारखाना स्थापनाका लागि हरतरहले पहल गर्ने जानकारी दिएका थिए ।

उनले कोरियामा नेपाली बैंक स्थापनाका लागि नेपालबाट फर्कनेवित्तिकै सम्बन्धित निकायसँग छलफल गर्ने बताए ।

मन्त्री गेउनले नेपालमा ठूलोभन्दा ठूलो साझेदारीको प्रयत्न भइरहेको बताउँदै अर्को सालबाट हुण्डाई कम्पनीको एसेम्बलिङ गर्ने काम नेपालबाटै गर्ने तयारी रहेको जानकारी पनि दिएका थिए ।

तपाईको प्रतिक्रिया