शनिबार १२ श्रावण २०८१
खेलकुद

दीपेन्द्रको नयाँ वर्ष उपहार : एकै ओभरमा ६ छक्का

आइतबार बैशाख २, २०८१/ Sunday 04-14-24

काठमाडौँ ।एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्नु चानचुने कुरा हैन । त्यसैले पनि यो उपलब्धि विश्व क्रिकेटमै दुर्लभ मानिन्छ । जस्तोसुकै उम्दा ब्याटरका लागि पनि एकै ओभरका छ बलमा लगातार ६ छक्का प्रहार गर्नु ठूलो उपलब्धि हो । अन्तर्राष्ट्रिय क्रिकेटमै पनि ब्याटरले देखाएको प्रदर्शनले भन्छ, यो सजिलै बन्ने कीर्तिमान होइन ।

नेपालका दीपेन्द्रसिंह ऐरीले शनिबार एकै ओभरमा लगातार ६ छक्का प्रहारको कीतिमान बनाएका छन् । एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा दीपेन्द्रले उक्त कीर्तिमान बनाएका हुन् । उनले मस्कटस्थित अल अमेरातमा कतारका बलर कामरान खानले अन्तिम ओभरमा फालेको सबै बलमा छक्का प्रहार गरेका हुन् । ‘लगातार चौथो छक्का गएपछि भने पूरा ओभर नै छक्का हान्छु भन्ने मनसाय बनाएको थिएँ, सफल पनि भएँ,’ दीपेन्द्रले आफ्नो पछिल्लो उपलब्धिबारे खुसी व्यक्त गर्दै भने । 

अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तेस्रो खेलाडी बनेका छन् । यसअघि दक्षिण अफ्रिकाका हर्षल गिब्सले सन् २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सका डान भान बुङ्गेलाई वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ कै ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डका स्टुवार्ट ब्रोडलाई दक्षिण अफ्रिकाको डर्बनमा एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए ।

त्यसैगरी वेस्ट इन्डिजका किइरन पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनन्जयको ओभरमा र अमेरिकाका जसकरण मलहोत्राले २०२१ मै पपुवा न्युगिनीका गौडी टोकाको एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए । मल्होत्राले दीपेन्द्रको सफलतापछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘लगातार ६ छक्का प्रहार गर्नु सजिलो विषय होइन, लगातार ६ छक्का प्रहार गर्ने क्लबमा स्वागत छ ।’

तपाईको प्रतिक्रिया