बुधबार २३ माघ २०८१
समाज

कोटिहोम गर्न नदिने पोखरा महानगरको घोषणा

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25

पोखरा । पोखरा महानगरपालिकाले पोखरामा हुने भनिएको कोटिहोम गर्न नदिने घोषणा गरेको छ । मेयर धनराज आचार्यले कुनै हालतमा पोखरामा कोटिहोम गर्न सम्भव नभएको बताएका छन् । 

४ महिनासम्म पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने उनको तर्क छ । ‘फेवातालको डिलमा ४ महिनासम्म कोटिहोम लगाउने ठाउँ होइन । स्थानीय तहले अनुमति नदिई त्यस्ता होम हुने कुरा सम्भव छैन,’ उनले भने । 

‘कोटिहोम पोखरामा हुँदैन । त्यति लामो समयसम्म पर्यटकीय सहर पोखरामा ध्वनि बालेर होम हुन सक्दैन,’ उनले भने, ‘अघिल्लो पटक पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भाथ्यो । हामीले अनुमति पनि दिएको छैन ।’

पोखरा फागुनमै २ वटा महायज्ञ भने हुँदै छ । पुम्दीकोटमा फागुन ७ देखि १५ सम्म महायज्ञ हुँदै छ भने सराङकोटमा १४ देखि २१ गतेसम्म महायज्ञ हुँदै छ । ‘कोटिहोम चाहिँ पोखरामा हुँदैन,’ ठोकुवाका साथ मेयर आचार्यले घोषणा गरे ।

तपाईको प्रतिक्रिया