बुधबार २३ माघ २०८१
समाज

न्यायाधीश ढकालको इजलासमा रविको बयान सुरु

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25

चितवन । साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा पेशी तोकिएको छ । 

उनीमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ । गए राति काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आइपुगेका लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगीको अभियोग लागेका लामिछानेसँग आज जिल्ला अदालत चितवनले बयान लिनेछ । बयानपछि दुई पक्षको बहस हुनेछ र थुनछेक आदेश आउने छ ।

जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जनाविरुद्ध पूरक मुद्दा दायर गरेको थियो । अदालतमा आजैदेखि उनको बयान सुरू हुनेछ । १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ । गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाइएको छ ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दा मात्रै चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरीले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।

तपाईको प्रतिक्रिया