मंगलबार २५ बैशाख २०८१
राजनीति

उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात चल्न पाउने

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन गर्न दिने निर्णय गरेको छ । आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ ।

यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र सन्चालन गर्न दिइन्थ्यो । तर उपनिर्वाचनमा भने मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्मै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन सन्चालन गर्न दिने निर्णय आयोगले गरेको हो ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले अनलाइनखबरसँग भने, ‘यसअघिका चुनावहरुमा सार्वजनिक सवारीका साधन निर्वाध सन्चालन गर्न पाइँदैनथ्यो, यसपटक भने चलाउन दिने निर्णय गरेका छौं ।’ उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइसकिएको उनले बताए ।

आयोगले दिएको निर्देशनमा लेखिएको छ, ‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने ।’

निर्वाचनका दिन अत्यावश्यक सेवाका सवारीसाधन पनि मतदाता बोक्न नपाउने गरी सन्चालन गर्न अनुमति दिइएको छ । आयोगका अनुसार बिरामी बोकेका एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन पनि सन्चालन हुन पाउने छन् ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षा निकायको सवारी साधन, मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन पनि सन्चालन हुन पाउने छन् ।

उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन चार पाङ्ग्रे, तीन पाङ्ग्रे वा दुई पाङ्ग्रे मध्ये कुनै एउटा सवारीसाधन मात्र अनुमती लिएर प्रयोग गर्न पाउने छन् ।

सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरू पनि सन्चालन हुन पाउने छन् ।

यदि कसैले निर्देशन विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपश्चात मात्र फिर्ता दिने आयोगका सहायक प्रवक्ता पाण्डेयले बताए ।

 

तपाईको प्रतिक्रिया