आइतबार ६ जेठ २०८१
राजनीति

यादवलाई मन्त्री पद फुस्किने चिन्ता

मंगलबार बैशाख २५, २०८१/ Tuesday 05-07-24

काठमाडौं। उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकेर मंगलबार बिहान १ बजे नेपाल फर्किएका छन् ।  संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन यादव अमेरिका रहेका बेला यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई संघीय परिषद् अध्यक्ष अशोक राईले विभाजन गरिदिएका छन् ।

 

राईले प्रतिनिधिसभाका सात सांसद र ३० जना केन्द्रीय कार्यकारिणी सदस्यसहित आइतबार विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयोगले उनलाई सोमबार नै जनता समाजवादी पार्टी नामको नयाँ दलको प्रमाणपत्र दिइसकेको छ ।

राईले नयाँ दलको प्रमाणपत्र बुझ्दै गर्दा अध्यक्ष यादव भने अमेरिकाबाट फर्किएर कता ट्रान्जिटमा रोकिएका थिए । उनी नेपाल आउनुअघि नै घटनाक्रम यति चाँडो विकास भयो कि अशोक राई नयाँ दलको अध्यक्ष नै बनिसकेका छन् । यादव नेपाल फर्किएपछि सबैभन्दा पहिले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डसँग संवाद गरेका छन् । त्यसपछि उनी अहिले आन्तरिक रणनीति तय गर्न केन्द्रीय कार्यालय बालकुमारी पुगेका छन् ।

जसपा संस्थापनका नेताहरूले अहिले देखिएको विवादलाई सामान्य भने पनि अध्यक्ष यादवले नयाँ पार्टीतर्फ खुलेका कसैसँग संवाद अघि बढाएका छैनन् । 

नेपाल आइसकेपछि नयाँ दल खोलेका अशोक राई र उनीनिकट नेताम तथा सांसदहरूसँग यादवले कुनै किसिमको संवाद गरेका छैनन् । यादवले नयाँ पार्टीतर्फ लागेका कुनै नेताहरूसँग संवादको पहल अघि नबढाएको संघीय सरकारका वन तथा वातावरण मन्त्री एवम् नयाँ दल जसपाका नेता नवकिशोर साह सुडीले बताए ।

उनले नयाँ दल जसपाको पक्षमा खुलेका सातजना संसद्हरू कोही पनि  यताउता नहुने बताए । साहले अगाडि भने, ‘हामी ७ सांसद र  बहुमत केन्द्रीय सदस्यको लाइन अब फेरबदल हुँदैन, हामीले नयाँ यात्रा गरिसक्यौँ ।’  मन्त्री साहले प्रधानमन्त्री प्रचण्डसँग पनि आफूहरू संवादमै रहेको खुलाए । ‘आवश्यक पर्दा प्रधानमन्त्रीसँग कुराकानी भइरहेको छ । हामीले प्रधानमन्त्रीलाई झन् दरिलो साथ दिएका छौं’, उनले अन्तिममा भने ।

तपाईको प्रतिक्रिया