आइतबार ६ जेठ २०८१
राजनीति

वर्तमान सरकारमा निरन्तर रहने नेकपा एसको निर्णय

मंगलबार बैशाख २५, २०८१/ Tuesday 05-07-24

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारका पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भुमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

पार्टी महाधिवेशनको कामलाई छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई बैठकले सचेत गराएको पनि प्रवक्ता खतिवडाले बताए ।

बैठकमा नेताहरुले पार्टी भित्रको एकतालाई अझ बलियो बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पार्टीभित्र कुनै समस्या नभएको निष्कर्ष पनि बैठकले निकालेको नेकपा एसले जनाएको छ ।

यस्तो छ खतिवडाको भनाइः

आज विकसित भएका राजनीतिक घटनाक्रमहरु समसामयिक परिस्थितिमा विकसित भएका घटनाक्रमहरुलाई पार्टीले गहिरोपूर्वक अध्ययन तथा विश्लेषण गरेको छ । र, यो परिस्थितिमा धेरै नै जिम्मेवारीपूर्वक आफ्ना कदमहरुलाई अघि बढाउने भन्ने हामीले निष्कर्ष निकालेका छौं । आज हामी सरकारमा छौं । सरकारमा हाम्रो निरन्तरता रही नै रहनेछ ।

कतिपय व्यक्तिहरुले, संस्थाहरुले सार्वजनिक ठाउँमा जे चर्चा गरिएको छ । सरकारबारे पार्टीले अन्यथा निर्णय गरेको छैन । र, आगामी दिनमा निकट भविष्यमा सरकारको नीति तथा कार्यक्रम आउँदैछ । र, बजेटको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

हाम्रो पार्टी हाम्रो पार्टीको संसदीय दललाई नीति, कार्यक्रममा, बजेटमा, यसको निर्माण प्रक्रियामा र संसदमा प्रभावकारी भुमिका खेल्नका निम्ति निर्देशन दिन्छ भनेर पार्टीले निर्णय गरेको छ । पार्टीले अर्को निर्णय गरेको छ–महाधिवेशनको तयारीको काम अत्यन्त तिब्र गतिमा भइरहेको छ । यो तयारीसँग जोडिएका आवश्यक कामहरु प्रभावकारी ढंगले सम्पन्न गर्नका निम्ति सम्पूर्ण कमिटीहरुलाई पुनः पार्टीले आह्वान गरेको छ ।

यीनै विषयलाई केन्द्रमा राखेर आज हामीले निर्णय गरेका छौं । पाटीमा आज जति सवाल उठेको छ । यी सबै विषयहरुमा छलफल गरेका छौं । र पार्टी एक ढिक्का छ । यहाँ कुनै वैमष्यता छैन । सम्पूर्ण नेताहरु, सम्पूर्ण कार्यकर्ताहरु पार्टीको महाधिवेशन सम्पन्न गर्न तोकिएका जिम्मेवारीहरुमा देशव्यापी रुपमा लागिरहनु भएको छ । त्यसमा कुनै समस्या छैन भन्ने कुरामा पाटी प्रष्ट छ ।

तपाईको प्रतिक्रिया