शनिबार ८ असार २०८१
मनोरन्जन

वरिष्ठ लोकगायक बस्नेतलाई दीर्घ साधना सम्मान प्रदान गरिने

बुधबार जेठ ३०, २०८१/ Wednesday 06-12-24

काठमाडौँ । दरबारमार्गस्थित दरबार रोधी क्लबले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने भएको छ । आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा रोधीले बस्नेतलाई सम्मान गर्ने भएको हो ।

लोक गायक बस्नेतले समाजका विकृति, विसङ्गती, कु–संस्कारहरु लोकगीतमार्फत् उजागर गरेको भन्दै सम्मानित गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए । लोकदोहोरी गायनमा पु¥याएको योगदानको कदर गर्दै लोक गायक बद्रि पंगेनी, सुनिता दुलाल र कृष्ण आँशुलाई यस अवसरमा विशेष सम्मान प्रदान गरिदैछ । यस्तै सञ्चारकर्मी ऋषी धमलालाई पनि विशेष सम्मान प्रदान गरिने बताईएको छ । 
हरेक वर्ष दरबार रोधी क्लबले आफ्नो वार्षिकोत्सवका अवसरमा सर्जकहरुलाई सम्मान गर्दै आएको छ । यसपटकबाट कलाका क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकारहरुलाई पनि दरबार रोधीले पुरस्कृत गर्ने निर्णय गरेको छ । अनलाइन खबरका विष्णु शर्मा, नयाँ पत्रिका दैनिकका अन्वेषण अधिकारी, सेतोपाटीका सुशिल नेपाल, रातोपाटीका नरेन्द्र रौले र मज्जाको टिभी डट्कमका आयशा दाहाललाई सम्मानपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

दरबार रोधी क्लबले आउने जेठ ३२ देखि असार २ गतेसम्म तीन दिन वार्षिकोत्सव मनाउने निर्णय गरेको छ । कार्यक्रममा गायक पशुपति शर्मा, दुर्गेश थापा, टीका पुन, पुर्णकला विसी, करिष्मा ढकाल लगायत दर्जनौं कलाकार तथा मोडलको  सहभागीता रहनेछ । 

‘लोकदोहोरी कलाकारका लागि करिअरको पहिलो खुड्किलो भनेकै दोहोरी साँझ हो ।’ दरबार रोधी क्लबका अध्यक्ष अशोक गिरीले भने ‘ दोहोरी साँझमा गीत गाएरै धेरै कलाकार स्थापित भएका उदाहरणहरु छन् ।’ उनले रोधीको वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेको बताए । यसै  अवसरमा संगीत र पत्रकारितामार्फत लोकदोहोरी क्षेत्रमा योगदान पु¥याउनेलाई  सम्मान गर्न लागिएको उनले बताए । 

तपाईको प्रतिक्रिया