बिहीबार २० असार २०८१
राजनीति

सत्ता सहकार्य नजिक कांग्रेस-एमाले, ओलीलाई देउवाको प्रस्ताव : तपाईं प्रधानमन्त्री बन्नू

सोमबार असार १७, २०८१/ Monday 07-01-24

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेले छलफल तीव्र पारेका छन् । असार १५ मा कांग्रेस सभापति शेरबहादुर देउवा दही चिउरा खान बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेसँगै दुई दलबीच सत्ता सहकार्यका लागि छलफल अघि बढेको हो ।

असार १५ मा देउवाले पत्नी आरजु राणालाई लिएर बालकोट पुग्दा त्यहाँ ओलीसँग तीन घण्टा लामो वार्ता भएको थियो । दुई नेताबीच तीन घण्टा लामो छलफलपछि आइतबार पनि ललितपुरमा सत्ता सहकार्यको जोड घटाउ भएको छ ।

जेठ मसान्तबाटै दुई नेताहरूबीच सम्भावित सहकार्यका लागि पटक–पटक छलफल भएको थियो । जेठ १५ मा बजेट आएदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनसँग रुष्ट थिए । प्रचण्डसँग रुष्ट ओलीलाई मनाउने प्रयासमा कांग्रेस नेताहरु सक्रिय थिए । खासगरी कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीसहितलाई देउवाले दूतका रुपमा खटाएका थिए ।

देउवाको बालकोट यात्रापछि दुई दलबीच सम्भावित सहमतिको मस्यौदा नै तयार गरेर छलफल अघि बढेको स्रोतले दाबी गरेको छ । सरकारको विकल्पबारे छलफल थालेका दुई दलले भावी प्रधानमन्त्रीको टुंगो लगाउन बाँकी छ। यद्यपि असार १५ मा दही चिउरा खान बालकोट पुगेका देउवाले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको दुवै नेताका सचिवालयका सदस्यले स्वीकार गरेका छन् ।

नेपाली कांग्रेसका एकजना शीर्ष नेताका अनुसार संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि देशमा जटिलता र कठिनाइ उस्तै रहेको निष्कर्षसहित यी दुई ठूला दलले सहकार्य गर्ने निष्कर्ष निकालेका हुन् । संविधान परिमार्जन र संशोधनका कुरा उठिरहेका बेला त्यसमा पनि सहकार्यको रणनीति यी दुई दलले बनाएका हुन् ।

‘दुई नेताहरूबीच विभिन्न कोणमा राजनीति विकल्पबारे छलफल भइरहेको छ। यो छलफलले देशलाई नयाँ राजनीतिक कोर्सतिर लान सक्ने संकेत देखिएको छ। संविधानमा देखिएका कठिनाइहरूलाई सापेक्ष रूपमा अगाडि बढाउन पनि दुई ठूला दल मिल्नेबाहेक विकल्प छैन’, कांग्रेसका ती नेताले भने, ‘संंविधान परिमार्जन गरी थप सशक्त र प्रभावकारी बनाउन ठूला दलबीच समन्वय र सहकार्य आवश्यक हुने भएकाले त्यही दिशामा कुरा अघि बढेको छ । अहिले एमाले र कांग्रेसका दोस्रो तहका नेताबीच मस्यौदामा छलफल भइरहेको छ ।’

दुई ठूला दल नमिलेसम्म सधैँ तेस्रो र चौथो पार्टीले सरकारको नेतृत्व लिइरहेर अस्थिरता निम्त्याउने भएकाले देउवा र ओली सहकार्यको निष्कर्षतिर पुगेका हुन् । दुई दल मिलेर सरकार चलाए संविधान परिमार्जन र परिस्कृत गर्न गर्न सकिने प्रस्ताव एमाले अध्यक्ष ओलीले कांग्रेस नेतृत्वलाई यसअघि नै राखेका थिए । यसमा देउवाले पनि सकारात्मक संकेतसहित नयाँ अभ्यासतिर जानुपर्ने निष्कर्ष जेठ मसान्तमै सुनाएका थिए ।

संविधान परिमार्जन र निर्वाचन प्रणाली समयमै नफेरे बाह्य शक्तिहरू सल्बलाएर देश अराजकता र अस्थिरतातिर जाने भएकाले नयाँ अभ्यासको तयारी गरेका हौँ’, कांग्रेसका एक नेताले खबरहबसँग भने, ‘यसमा एमाले अध्यक्ष ओली र सभापति देउवा गम्भीर बन्नु भएको छ, त्यही दिशामा जाने गरी उहाँहरु छलफलमा हुनुहुन्छ ।’

मिलेर सरकार चलाउने सवालमा सभापति देउवाले असार १५ मै बालकोटमा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको स्रोतले उल्लेख गरेको छ ।

‘अहिलेको निर्वाचन प्रणाली र संविधानको परिमार्जन गर्न दुई ठूला दल मिलेर सरकारमा जाने कोणमा कुरा भएको हो । सरकारको नेतृत्व एमालेलाई दिएर जान कांग्रेस तयार भएको छ’, कांग्रेसका ती शीर्ष नेता अगाडि भन्छन्, ‘दुई नेताबीच छलफल हुँदा ओलीलाई प्रधानमन्त्री मानेर जाने कुरा भएको छ। हाम्रो सभापति देश अघि बढाउन जनताले चाहेअनुसारको स्थायी सरकारका लागि तयार हुनु भएको छ ।’

अहिलेको अवस्थामा कुनै पनि दलको बहुमत आउन नसक्ने एमाले नेताहरुले पनि स्वीकारेका छन् । त्यहीकारण एमाले महासचिव शंकर पोखरेलले लामो समयदेखि दुई दलीय अभ्यासको वकालत गर्दै आएका छन् । त्यसका लागि पहिलो खुट्किलो कांग्रेस–एमाले सत्ता सहकार्य हुने उनले तर्क गरिरहेका छन् ।

‘अहिलेको अभ्यासबाट कसैको पनि बहुमत नमिल्ने भएकाले ठूला दलहरू मिलेर समाधान खोज्छौँ । त्यसकै लागि छलफल गरौँ भनेर प्रक्रिया अगाडि बढेको छ’, एमालेका एक शीर्ष नेताले भने, ‘यसो हुँदा दुई दलबीच सत्ताको नेतृत्वमा विवाद छैन । अहिलेलाई एमालेले नेतृत्व गरेर जान्छ ।’

यता संसद्को ठूलो दल कांग्रेसका नेताहरू पनि ओलीलाई नै प्रधानमन्त्री बनाएर जान तयार देखिएका छन् । जो प्रधानमन्त्री बने पनि संविधानका जटिलताहरू हटाउन संशोधन र निर्वाचन प्रणाली परिमार्जन गर्न तत्पर हुनुपर्ने उनीरूको तर्क छ ।

देउवाले ओलीलाई नेतृत्व दिएर सहकार्य गर्न तयार भएकाले नयाँ समीकरणको सम्भावना बलियो भएर गएको छ ।

कांग्रेस सभापति देउवा पत्नी एवम् सांसद आरजु राणाले पनि ओलीलाई असार १५ मा भेटेर सरकारको नेतृत्वका लागि तयार रहन बताइसकेकी छन् ।

उनले देउवाको स्वरमा स्वर मिलाउँदै अहिले ठूला दलहरू मिलेर तत्काल संविधान र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएकी छन् । त्यसो हुन नसके ठूला दलहरूलाई संकट आउने उनको तर्क छ ।

असार १५ को छलफलाई आइतबार साँझ ललितपुरमा पनि दुई नेताहरूले निरन्तरता दिएको स्रोतको दाबी छ ।

‘देश जटिलता उन्मुख भएकाले दुई ठूला दल मिल्नुको विकल्प छैन । हामीले सभापति देउवालाई यसमा समर्थन गरेका छौँ’, कांग्रेसका अर्का नेताले भने, ‘अन्य कुरा के के गर्ने भन्नेबारे छलफल चलिरहेको छ। दुई पार्टीबीच जस्तोसुकै अवस्थामा पनि सहमति हुन्छ ।’

यता एमालेका नेताहरू पनि सत्ताका लागि छिनाझपटी गर्ने प्रवृत्ति भइरहेकाले दुई ठूला दल मिलेर निर्वाचन प्रणालीलाई परिमार्जन गरी एकल बहुमत आउनेतिर जानुपर्ने बताइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया