शनिबार १९ असोज २०८१
राजनीति

मधेस प्रदेश सरकारका ६ मन्त्री बर्खास्त

शनिबार असार २२, २०८१/ Saturday 07-06-24

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । 

मुख्यमन्त्री सिंहले आइबार मध्यान्ह माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन्।

केन्द्रमा नयाँ समीकरण बनेपछि उक्त समीकरण अनुसार प्रदेशबाट माओवादी, एकीकृत समाजवादी र २ साना दलका मन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले हटाएका हुन् । 

माओवादीका अर्थमन्त्री भरत साह, उद्योग मन्त्री युवराज भट्टराई, र एकीकृत समाजवादीका भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने तथा ऊर्जा मन्त्री बेची लुङ्गेली मुख्यमन्त्री सिंहले हटाएका हुन् । यसैगरी मुख्यमन्त्री सिंहले नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई आज बर्खास्त गरेका छन् । 

मुख्यमन्त्री सिंहले बर्खास्त गरेका मन्त्रालयहरूमा आजै कांग्रेस र लोसपालाई दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । कांग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदैछ भने लोसपाको अहिलेसम्म टुङ्गो लागेको छैन । 

स्रोतका अनुसार लोसपाले २ वटा मन्त्रालय मागिरहेको छ । तर मुख्यमन्त्रीज्यूले एउटा लिएर सरकारमा सहभागी हुन अनुरोध गरिरहेको बताइएको छ । त्यसकारण भागबन्डामा सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ । 

यसैबिच मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्दा बर्खास्त गरिएका दलहरूलाई धन्यावाद ज्ञापन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा बर्खास्तको पत्र बुझाउनु अघि एक पत्रकार सम्मेलन गरी अहिलेसम्म सरकारमा सहभागी भएका ४ वटै दललाई धन्यवाद ज्ञापन गरेका हुन् । 

 

तपाईको प्रतिक्रिया