शनिबार १९ असोज २०८१
समाज

बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत

सोमबार असोज १४, २०८१/ Monday 09-30-24

काठमाडौं । सरकारले विपद्‌मा परी बेपत्ता भएका व्यक्ति १० दिनभित्र फेला नपरे परिवारलाई मृतकसरह राहत दिने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको सोमबार बिहान बसेको बैठकबाट गएको असार ३१ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार बेपत्ता व्यक्तिका परिवारलाई राहत प्रदान गर्ने निर्णय गरिएको हो ।

बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताएका हुन् । 

विपद्मा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरूका लागि सात दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । यो जिल्ला विपद् व्यवस्थापन समितिबाट उपलब्ध हुने पनि प्रवक्ता तिवारीले बताए । 

विगत तीन दिनदेखिको भारी वर्षातका कारण विपद् प्रभावित क्षेत्रमा खोज उद्धारका बाँकी कार्यलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितहरूका लागि राहत वितरणको प्रक्रिया एकद्वारा प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ । 

तपाईको प्रतिक्रिया