शनिबार १९ असोज २०८१
समाज

मन्थली–काठमाडौँ आवागमन फेरि अवरुद्ध

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24

मन्थली ।  लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाडौं यातायात आज बिहानदेखि अवरुद्ध भएको छ। 

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरेमा बाटो तामाकोसी नदी किनारमा भासिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो । 

मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौंसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौं आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो ।  

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौं जाने र तीनै स्थानका लागि काठमाडौंबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् । 

अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया