काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलबीच सहमति जुटेको छ । बिहीबार सिंहदरबारमा बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकबाट त्यसमा सहमति गरिएको हो ।
गृहमन्त्री रमेश लेखकका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ ।मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति भएको छ ।
‘राम्रो उपलब्धि भएको छ, मिल्न बाँकी रहेका सबै विषयमा कुरा मिलेको छ’, गृहमन्त्री लेखकले बैठकपछि भने, ‘द्वन्द्वकालमा भएका हत्याका सन्दर्भमा मनसायपूर्वक वा स्वेच्छाचारी ढंगको हत्या भनेर परिभाषित गरेका छौँ ।’
त्यस्तै उनले मेलमिलापका सन्दर्भमा पीडितको सहमति हुने कुरा गरेको बताए । ‘यदि पीडितको सहमति भएन भने मानवअधिकार उल्लङ्घनको मुद्दा चल्न सक्ने र फौजदारी मुद्दा भएकोमा पीडितलाई त्यसको अधिकार दिने भन्ने कुरा, द्वन्द्वमा संलग्न सुरक्षाकर्मी जो मृत्यु भएका परिवारलाई पीडित सरह क्षतिपूर्ति दिने कुरा गरेका छौँ’, गृहमन्त्री लेखकको भनाइ छ ।
उनले बहिगर्मित पूर्व लडाकुलाई पनि परिपूरण गर्ने सहमति भएको भएको भन्दै सबै असहमतिका विषय टुङ्ग्याएको जानकारी दिए । ‘हत्याको विषयलाई नियतपूर्वक वा स्वेच्छाचारी ढङ्गबाट गरिएको हत्या’ भनेका छौँ । अब कानुन मन्त्रालयले प्रतिवेदन बनाउँछ र शीर्ष नेताले सम्बोधन गर्नुहुन्छ’ गृहमन्त्री लेखकको भनाइ छ ।
तपाईको प्रतिक्रिया