सोमबार १७ मङ्सिर २०८१
राजनीति

सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र

बुधबार कार्तिक २१, २०८१/ Wednesday 11-06-24

काठमाडौँ । सरकारका काम प्रभावकारी बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) ले संयन्त्र बनाएका छन्। संयन्त्रमा दुवै दलका पदाधिकारी तहका नेताहरू छन्।

संघ, प्रदेश र स्थानीय तहसम्मै संयन्त्र बनाएर सबै तहका सरकार प्रभावकारी बनाउने कांग्रेस-एमालेबीच समझदारीअनुसार संघीय सरकारका कामलाई थप प्रभावकारी बनाउन संयन्त्र बनाइएको नेताहरूको भनाइ छ।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षसमेत रहेका  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन्।

नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि कांग्रेस-एमालेले सरकारका कामकाज प्रभावकारी बनाउन संयन्त्र बनाएको बताए। 

उनकाअनुसार प्रदेश र जिल्ला तहमा पनि संयन्त्र गठन हुनेछ। ‘प्रदेश र जिल्ला तहमा पनि तीन-तीन सदस्यीय संयन्त्र बनाउने तयारी छ,’ उनले भने।

गत असार १७ गते भएको सात बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। ओली दुई वर्ष र कांग्रेस सभापति देउवा चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष प्रधानमन्त्री बन्ने सहमति कांग्रेस र एमालेबीच भएको छ। 

तपाईको प्रतिक्रिया