सोमबार ३ मङ्सिर २०८१
राजनीति

उपनिर्वाचन : रास्वपाले १८ स्थानमा दिएन उम्मेदवारी

सोमबार मङ्सिर ३, २०८१/ Monday 11-18-24

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति, गाउँपालिका/नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरी ४४ रिक्त पदका लागि आइतबार ४१० जनाको उम्मेदवारी परेको छ। ती उम्मेदवारी उपर सोमबार दाबी विरोधको उजुरी दिने कार्यतालिका छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २६ ठाउँमा मात्रै उम्मेदवारी दिएको छ। बाँकी १८ ठाउँमा उसले मनोनयन दर्ता नै गराएन। रास्वपाले दुई जिसस प्रमुख, दुई/दुई पालिका प्रमुख र उपप्रमुख, १२ वडाध्यक्षका लागि उम्मेदवारी दिएन।

रास्वपाले सार्वजनिक गरेको सूची अनुसार झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष, ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुख, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रमुख, डाक्नेश्वरीकै ४ र १ नम्बर वडाध्यक्ष, रौतहटको इशनाथ-७, राजपुर-६  र गढीमाई-८ को वडाध्यक्ष,  रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्षका लागि पनि उम्मेदवारी दिएन। कीर्तिपुरकै वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि पनि रास्वपाले उम्मेदवारी दिएन। 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्ष, रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष, दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष र  कैलालीको जिसस प्रमुखका लागि उम्मेदवारी नदिएको रास्वपाले जनाएको छ। 

तपाईको प्रतिक्रिया