सोमबार १७ मङ्सिर २०८१
समाज

लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा एकजना पक्राउ

शुक्रबार मङ्सिर १४, २०८१/ Friday 11-29-24

काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका एक युवा रहेको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाबाट एक जनालाई पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ । सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका हरिचन्द्र फुँयाल रहेका छन् ।

उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।

उनलाई नेपाल–भारत सिमानास्थित पानी ट्याङ्कीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको प्रहरीले जनाएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरू मध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी गरेका छन् ।

फोन गर्नेहरूले दुर्गा प्रसाईँलाई सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका छन् । अनुसन्धानमा संलग्न ब्युरोका एक जना अधिकृत भन्छन्,  ‘सुपारी लिएको छु भनेर उनीहरूले धम्की दिने गरेको देखिन्छ ।’ 

विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ ।

तपाईको प्रतिक्रिया