शुक्रबार ४ माघ २०८१
प्रवास

नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा

मंगलबार मङ्सिर १८, २०८१/ Tuesday 12-03-24

काठमाडौं । नरेश भट्टमाथि श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोप लागेको छ । भूतपूर्व अमेरिकी सैनिक नरेशले आफ्नी श्रीमती ममताको गएको जुलाई अन्तिममा हत्या गरेर शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । 

नरेशलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइने समाचारमा भनिएको । नरेशले जुलाई ३० मा ममताको हत्या गरेको मानसास पार्क प्रहरीले बताएको छ ।

ममता र नरेश बस्दै आएका घरको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भएको मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले भनेका छन् । 

सुरुदेखि नै आफूहरूलाई उनको हत्या भएको शंका लागेको अनि यो कुरा डीएनए जाँच र अरू प्रमाणबाट पुष्टि भएको लुगोले भनेका छन् । ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने भेटिएको छैन । शवको खोजी निरन्तर जारी राखिने प्रहरीले बताएको छ ।

प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई उनी हराएको खबर गरेका थिए । 

अगष्ट २ मा प्रहरी ममता र नरेशको घर पुगेका थिए । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । 

प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । 

तपाईको प्रतिक्रिया