मंगलबार ९ पौष २०८१
राजनीति

रास्वपाको कार्यवाहक सभापति बने डीपीअर्याल

सोमबार पौष ८, २०८१/ Monday 12-23-24

काठमाडौं । रास्वपाले उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति बनाएको छ ।

सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा मुद्दा चलेपछि उपसभापति रहेका अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको छ । सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

“जिम्मेवारी दिनका लागि रवि लामिछानेज्यूबाट सिफारिस गरिएको र सचिवालय बैठकले पारित गरेको हो,” झाले भने,“कास्की अदालत परिसरमा स्रेस्तेदारको उपस्थितिमै उहाँले सिफारिस गर्नुभयो र कानुनी प्रक्रिया मिलाएर उहाँ (अर्याल)लाई जिम्मेवारी दिइएको हो । बैठकमा पनि सर्वसम्मतिले पारित गरेको हो ।”

रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएका छन् । लामिछाने सांसदबाट निलम्बित भएपछि रास्वपा संसदीय दलले पनि नयाँ नेता चुन्नुपर्नेछ । संसदीय दलको बैठक तत्काल बोलाइएको छैन, संसद् अधिवेशन आह्वान गरेपछि बस्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया