शनिबार ६ पौष २०८१
समाज

लोडसेडिङ हुँदा खुसी मनाउने जमात पनि रहेछः कुलमान घिसिङ

शुक्रबार पौष ५, २०८१/ Friday 12-20-24

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । आज (शुक्रबार) नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २-३ घण्टा उद्योग नचलाई दिनुस् भनेको बताए। तर, यही कारणले एक हप्तामै सिमेन्टको १०० रुपैयाँ बढाइएको भन्दै यो गलत भएको उनले बताए ।

उनले उद्योगीले सामान्य समयमा पनि दैनिक १६-१७ घण्टा भन्दा बढी उद्योग नचल्ने गरेको बताउँदै २-३ घण्टा बिजुली नपाउँदा समस्या हुने अवस्था नरहेको बताए । उनले अबको १० दिनभित्र अपर तामाकोशी आउने र कालीगण्डकी पनि छिटै सञ्चालनमा आउने भएकाले अहिलेको समस्या लोडसेडिङ नभएर व्यवस्थापनको अल्पकालीन समस्या मात्रै भएको बताए ।

घिसिङले उद्योगीहरुले पहिले लोडसेडिङ हुँदा पनि डिजेलबाट उद्योग नचलाएको भन्दै त्यो समयको बिजुलीको पैसा तिर्न पर्दैन ? भन्दै प्रश्न समेत गरे । घिसिङले अहिले सरकार धेरै लगानी गर्नसक्ने अवस्थामा नरहेको र बजेट दिइएका आयोजनामा समेत भुक्तानीको समस्या रहेको भन्दै आयोजनाको प्राथमिकीकरण गर्नुपर्नेमा विशेष जोड दिए ।

तपाईको प्रतिक्रिया