काठमाडौं । जिल्ला अदालत काठमाडौंमा जारी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन। बहस नसकिएसँगै उनको मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई पुन: प्रहरी हिरासतमै फर्काइएको छ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका थिए।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे। यस्तै, सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल, विना खड्कासहित ९ जनाले बहस गरे पनि सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
रविमाथि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा चलिरहेको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि धरौटीमा रिहा भएका थिए। स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप छ। ती जिल्लामा समेत मुद्दा अभियोजनको प्रक्रियामा छ।
तपाईको प्रतिक्रिया