बुधबार २ माघ २०८१
जीवनशैली

कामपाले सुरु गर्‍यो प्रवर्द्धनात्मक स्वास्थ्य सेवा

मंगलबार माघ १, २०८१/ Tuesday 01-14-25

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रियसभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरू गरेको छ।

१०औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रम माघ ४ गतेसम्म हुने छ। बिहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग संगीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम हुने जनाइएको छ।

यस्तै, नसर्ने रोगसम्बन्धी कार्यशाला, विज्ञहरूसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरूस्ती र पोषण परामर्श प्रवर्द्धनात्मक स्वास्थ्य सेवामा समेटिएको महानगरपालिकाले जनाएको छ। कार्यक्रम शुभारम्भ गर्दै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले स्वास्थ्य रहन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्ने बताए। उनले भने, ‘पछिल्लो समय योगलाई हात र खुट्टा तन्काउने कलाका रूपमा बुझ्न थालिएको छ, योग त शारीरिक कलाभन्दा धेरै माथि तन र मन जोड्ने सशक्त माध्यम हो, स्वास्‍थ्य रहन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिकरूपमा सन्तुलित हुनुपर्छ, यो फल योग र ध्यानबाट प्राप्त गर्न सकिन्छ।’ कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले योग विज्ञानलाई विद्यालय तहको औपचारिक शिक्षामा समावेश गरेर यसको महत्वलाई ज्ञान र व्यवहारमा कार्यान्वयन गर्ने योजना बनाएको बताए। स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सहरी जीवनशैली क्रमशः अस्वस्थकर खानपान र निष्क्रियतातर्फ उन्मुख भइरहेकोले यसबाट सिर्जना हुन सक्ने दीर्घ र नसर्ने रोगको जोखिमबाट बचाउन योग तथा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिएको हो।

पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपनाजस्ता समस्याबाट मानव मृत्यु भइरहेको उनको भनाइ छ। 

 

 

 

तपाईको प्रतिक्रिया