न्यायाधीशसमक्ष रविले भने– बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, सहकारीपीडितको पक्षमा काम गर्छु
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन आग्रह गरेका छन् ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासमा लामिछानेले आफूलाई साधारण तारेखमा छाडिदिन आग्रह गरेका हुन् । उनले न्यायाधीशसमक्ष हरेकपटक तारेखमा आउँदा सहकारीपीडितको रिपोर्ट लिएर आउने बताएका छन् ।
उनले न्यायाधीश राईसमक्ष आफूलाई तारेखमा पठाउने आदेश आएमा सहकारी पीडितिहरूको न्यायका लागि लड्ने वचन दिए ।
स्रोतका अनुसार उनले इजलासमा उभिएर भने, ‘श्रीमान् तारेखमा पठाउने आदेश दिनु भएमा सहकारी पीडितलाई न्याय दिन मन छ ।’
उता जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बहस सकिएकाले आजै पुर्पक्षसम्बन्धी आदेश आउने सम्भावना रहेको बताए ।
‘सरकारी वकिलको जवाफसँगै सबै बहस सकिएको छ’, उनले भने, ‘आजै साँझसम्म सबै प्रतिवादीबारे पुर्पक्षसम्बन्धी आदेश आउन सक्छ ।’
यस प्रकरणमा तीन सातादेखि निरन्तर न्यायाधीश नीतिज राईको इजलासमा सुनुवाइ भइरहेको थियो । रास्वपा नेता कार्यकर्ताले यो मुद्दा नटिक्ने जिकिर गरिरहेका बेला रविले इजलासमा तारेखमा छोडिदिनका लागि न्यायाधीशलाई भनेका हुन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपित लामिछानेलाई न्यायाधीश राईले बोल्न दिएका थिए ।
बिहीबार केही समयअघि मात्र सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएको छ । त्यसपछि न्यायाधीश राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए । लामिछानेले सो क्रममा आफूलाई छोड्न अनुरोध गरेका हुन् ।
तपाईको प्रतिक्रिया