बुधबार २० चैत २०८१
बिजनेस

सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान

शनिबार फाल्गुण २४, २०८१/ Saturday 03-08-25

काठमाडौं । यती एयरलाइन्सले सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान गरेको छ ।

यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले शनिबार नेपालगञ्जबाट सुर्खेत विमानस्थल र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो ।

नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको जहाज सुर्खेत विमानस्थलमा शनिबार दिउँसो १२ः१७ मा अवतरण गरेको थियो । नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो २ः४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

परीक्षण उडानलाई कम्पनीका प्रशिक्षक पाइलटहरू क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र यती एयरलाइन्सका प्राविधिकहरु साथमै गएका थिए ।

गत २० गते मंगलबार यती एअरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको छ । यतीले उक्त विमानस्थलहरूमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रूपमा प्रयोग गर्ने उद्देश्यले परिक्षण उडान गरेको हो ।

तपाईको प्रतिक्रिया