
पर्वत । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा २३६ उद्योग बन्द भई दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ। यस अवधिमा ९९ उद्योग दर्ता भए पनि १३३ उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन्।
अघिल्लो वर्षको तुलनामा उद्योग व्यवसायको सङ्ख्या घट्दै गइरहेको कार्यालय प्रमुखले बताए। आर्थिक मन्दी, युवा पलायन, बजार अभाव जस्ता कारणले उद्योग विस्थापन बढेको छ। व्यवसायीहरू पनि कम आम्दानीका कारण पलायन हुन थालेका छन्।
सरकारले उद्योग प्रोत्साहन कार्यक्रम ल्याए पनि बन्द हुने क्रम नरोकिएको उद्योगीहरूको भनाइ छ। कृषि, पशुपालन, होमस्टे जस्ता व्यवसायमा भने दर्ता बढ्दो छ। साथै, अध्ययन वा बैंक ग्यारेण्टीका लागि मात्र उद्योग दर्ता गर्ने प्रवृत्ति पनि देखिएको छ।
तपाईको प्रतिक्रिया