बुधबार २० चैत २०८१
ब्लग

नेपालको राजनीति: इतिहास दोहोर्‍याउने कि सुधार गर्ने?

बिहीबार चैत ७, २०८१/ Thursday 03-20-25

नेपालको इतिहास हेर्दा हामीले धेरै महत्वपूर्ण मोडहरू पार गरिसकेका छौं। पृथ्वीनारायण शाहको राज्य एकीकरणदेखि गणतन्त्र स्थापनासम्म नेपालले थुप्रै राजनीतिक प्रणाली परिवर्तन गरेको छ। प्रत्येक कालखण्डमा गरिएको निर्णय र अपनाइएको प्रणाली त्यस समयका आवश्यकताअनुसार ठिकै थियो। तर, अहिलेको परिस्थितिलाई हेर्दा प्रश्न उठ्छ— के हाम्रा परिवर्तनहरू सही दिशामा गएका छन्? के हामीले इतिहासबाट केही सिकेका छौं, वा उही गल्ती दोहोर्‍याइरहेका छौं?

राज्य निर्माण र विस्तारको प्रारम्भिक चरण

वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान थाले। त्यो समय नेपाल विभिन्न स-साना राज्यहरूमा विभाजित थियो। नेपाललाई एकीकृत राष्ट्र बनाउनु अत्यावश्यक थियो, र त्यही भएर पृथ्वीनारायण शाहले युद्धको माध्यमबाट एकीकरण गरे। आज आएर कोही भन्छन्, त्यो राज्य विस्तार मात्र थियो, कोही भन्छन्, त्यो युद्ध अपराध थियो। तर, त्यो समयमा राज्य एकीकरण गर्नु अनिवार्य थियो, जसले गर्दा नेपालको अस्तित्व जोगियो।

उनका उत्तराधिकारीहरूले पनि यही अभियानलाई निरन्तरता दिए। यो नेपाल राष्ट्रको आधारभूत निर्माणकाल थियो, जसले नेपालको भविष्यलाई परिभाषित गर्‍यो।

राणाशासन र सत्ताको केन्द्रीकरण

वि.सं. १९०३ मा कोतपर्व भएपछि राणाहरूको सत्ता आयो। यो १०४ वर्षसम्म रह्यो। राणाशासनलाई हामी निरंकुश भन्छौं, जुन सत्य पनि हो। तर, उनीहरूले पनि केही राम्रा काम गरे। नेपालमा केही आधुनिक संरचनाहरू निर्माण भए, कानुनी प्रणाली केही सुधारिए, र बाह्य हस्तक्षेपबाट मुलुकलाई जोगाउनतिर ध्यान दिइयो।

तर, राणाशासनको सबैभन्दा ठूलो कमजोरी के रह्यो भने, यो पूर्ण रूपमा केन्द्रीकृत थियो। जनताको सहभागिता थिएन, शिक्षा सीमित वर्गले मात्र पाउँथ्यो, र देशको समग्र विकास रोकिएको थियो। अन्ततः, २००७ सालको क्रान्तिपछि राणाशासनको अन्त्य भयो, र प्रजातन्त्रको शुरुवात भयो।

प्रजातन्त्रको आगमन र राजनीतिक अस्थिरता

वि.सं. २००७ मा नेपालमा प्रजातन्त्र आयो। राजा त्रिभुवन, वीर वीरङ्गना, र विभिन्न राजनीतिक दलहरूको भूमिकाले नेपाललाई नयाँ प्रणालीमा प्रवेश गरायो। तर, यो स्थिर रहन सकेन।

राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र असफल भएको भन्दै पञ्चायती व्यवस्था लागू गरे। उनले नेपाललाई औद्योगिक विकासतर्फ अघि बढाउन खोजे। भारतको अत्यधिक प्रभाव रोक्न खोजे। विश्वविद्यालय स्थापना गरिए, औद्योगिक केन्द्रहरू खोलिए। त्यो समयमा यी सबै सुधार प्रयास आवश्यक थिए।

वि.सं. २०३६ मा जनमत संग्रह भयो, तर पञ्चायत प्रणाली कायम रह्यो। अन्ततः, २०४६ सालमा पुनः प्रजातन्त्र आयो।

लोकतन्त्रपछि बहुदलीय प्रणालीको अभ्यास

वि.सं. २०४६ पछि बहुदलीय व्यवस्था आयो। राजा वीरेन्द्रको शासनकालमा नेपालको सार्वभौमिकता बलियो बनाइयो। भारत र चीनका बीचमा सन्तुलन कायम राख्ने नीति अवलम्बन गरियो। तर, २०५८ सालमा दरबार हत्याकाण्ड भयो, र ज्ञानेन्द्र राजा भए। उनले २०६२/०६३ सम्म देशलाई चलाउने प्रयास गरे, तर जनताको असन्तुष्टि बढ्दै गयो। अन्ततः, नेपालले राजतन्त्रलाई त्यागेर गणतन्त्र रोज्यो।

गणतन्त्रको आगमन र वर्तमान स्थिति

वि.सं. २०६५ मा गणतन्त्र घोषणा भयो। २०७२ सालमा नयाँ संविधान आयो। यो संविधानअनुसार जनता स्वयंले चुनेका नेताहरूले देश चलाउने व्यवस्था भयो। सर्वसाधारण जनताका छोराछोरी राष्ट्रप्रमुख बन्न थाले। तर, २०६५ पछिका वर्षहरूमा नेपालले जुन समृद्धिको अपेक्षा गरेको थियो, त्यो पूरा हुन सकेन।सरकार बारम्बार परिवर्तन भइरहेको छ। स्थायित्व छैन।विकासका लागि आएको स्रोतहरू दुरुपयोग भइरहेको छ। युवा जनशक्ति विदेश पलायन भइरहेको छ, नेपालमा रोजगारी सिर्जना हुन सकेको छैन। पूर्वाधार निर्माणको नाममा राजनीति भइरहेको छ, तर वास्तविक काम न्यून छ।

इतिहासबाट सिक्ने हो भने, व्यवस्थाले मात्र परिवर्तन ल्याउँदैन। व्यवस्था जस्तोसुकै भए पनि, त्यो चलाउने नेताहरू योग्य, इमानदार र दूरदर्शी हुनुपर्छ। नेपाल अहिले आलोचनाको दोधारमा छ। कतिपयले भन्छन्, गणतन्त्र असफल भयो, राजतन्त्र फर्किनुपर्छ। अरू भन्छन्, समस्या गणतन्त्रमा होइन, नेताहरूमा छ। तर, सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, हामीले अब अगाडि के गर्ने? समय परिवर्तन भएको छ, तर हाम्रो सोचाइ परिवर्तन भयो त? एआई (Artificial Intelligence) को युगमा प्रवेश गरिसकेका छौं, तर हामी अझै इतिहासकै पछाडि लडिरहेका छौं। हामीले पढेको इतिहास मात्र महत्वपूर्ण होइन, त्यो इतिहास लेख्न छुटेको छ, त्यसलाई खोतल्नु हाम्रो जिम्मेवारी हो। नेपाल बर्बाद हुँदै गएको भन्ने धारणा पनि पूरै सत्य होइन। हामीसँग समय छ, स्रोत-साधन छ, ती साधनको सही उपयोग गर्ने इच्छाशक्ति चाहिन्छ।

हामी केवल आलोचना गर्न, समाजिक सञ्जालमा कटाक्ष गर्न, पक्ष-विपक्ष बन्दै एकअर्कालाई निषेध गर्न मात्र लागिरहेका छौं। इतिहासदेखि वर्तमानसम्म हाम्रो अवस्था धेरै हदसम्म सही छ। समयअनुसार सही निर्णयहरू भएका छन्। हरेक नयाँ व्यवस्थाले अघिल्लो व्यवस्थालाई नराम्रो देखाउने प्रवृत्ति हुन्छ। अहिले गणतन्त्रमा सत्तामा भएकाहरू आफू राम्रो, विपक्षी नराम्रो भन्दैछन्, ठीक उस्तै अघिल्लो व्यवस्थामा पनि थियो।

 इतिहासलाई नकारेर, गाली गरेर, टुक्य्राएर अगाडि बढ्न सकिँदैन। राम्रो पक्षलाई स्विकार्ने, गल्तीबाट सिक्ने, अनि भविष्यलाई सही मार्गतर्फ डोर्याउने हाम्रो दायित्व हो। समय परिवर्तनशील छ, हामी पनि त्यसैअनुसार अगाडि बढ्नुपर्छ। हामी केवल बाँच्न होइन, समृद्ध भविष्यको निर्माण गर्न जन्मिएका हौं। पृथ्वीमा रहेका सबै प्राणीहरूको अस्तित्व जोगाउनु हाम्रो दायित्व हो।

हाम्रो राष्ट्रिय बहस सतही हुन थालेको छ। सामान्य कुरालाई तिलको पहाड बनाउने प्रवृत्ति छ। जबसम्म हामी आफ्नो ऊर्जा सही दिशामा लगाउँदैनौं, तबसम्म इतिहास दोहोरिइरहनेछ।

अब, मुलुकलाई नयाँ राजनीतिक अभ्यासबाट विकास र समृद्धिको सही दिशामा लैजान ढिलो गर्नुहुँदैन। इतिहासले सिकाएको पाठलाई आत्मसात् गरेर, नयाँ नेपाल निर्माण गर्ने संकल्प लिऔं।

तपाईको प्रतिक्रिया