बुधबार २० चैत २०८१
समाज

पत्रकार हत्याको विरोधमा महासंघले देशभरबाट बुझायो ज्ञापनपत्र

सोमबार चैत १८, २०८१/ Monday 03-31-25

काठमाडौँ । पत्रकार हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघले सोमबार देशभरबाट एक साथ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

महासङ्घले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीका साथै उनको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।

महासङ्घको केन्द्रीय समितिले सोमबार काठमाडौँमा गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापनपत्र बुझाउँदै शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा भएको सुनियोजित आक्रमणप्रति खेद प्रकट गरेको छ ।

प्रदेश समितिहरूले प्रदेश सरकारका गृहमन्त्रीलाई ज्ञापन बुझाएका छन् भने जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेका छन् ।

घाइते पत्रकारहरूको उपचारका लागि समेत महासङ्घले ध्यानाकर्षण गराएको छ । महासङ्घले उक्त घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शनिबारदेखि नै आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्य, उपाध्यक्ष उमिद बागचन्द र महासचिव रामप्रसाद दाहालले आज बिहान गृहमन्त्रालय पुगेर मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया