बुधबार २० चैत २०८१
राजनीति

रविलाई सभामुखले भने– तपाईंको निलम्बन फुकुवा गर्न मिल्दैन

मंगलबार चैत १९, २०८१/ Tuesday 04-01-25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद पुसदेखि निलम्बनमा छ। मंगलबार लामिछानेसहित रास्वपाका नेताहरूले सभामुखलाई भेटेर निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन्।

जबाफमा सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न आफूले नमिल्ने बताए।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार निलम्बन फुकुवा गर्न नमिल्ने कारणमा उनले दुई आधार सुनाए।

पहिलो उनको सांसद पद आफूले निलम्बन नगरेको सभामुख घिमिरेल बताए। बरू सूचना टाँसेर जानकारी मात्रै गराएको उनको भनाइ थियो।  

उनले संसद नियमावलीभन्दा बाहिरका अन्य कानुनका कारण लामिछानेको पद निलम्बनमा परेको बताए। संसद नियमावलीका आधारमा निलम्बित नभएका कारण फुकुवा गर्न पनि आफूले नमिल्ने उनको धारणा थियो।

निलम्बन फुकुवा गरे अदालतको अवहेलना हुने पनि सभामुख घिमिरेले बताए।

'त्यतिबेला निलम्बनको सूचना जारी नगर्नू पनि अदालतको र अन्य कानुनको अवहेलना हुन्थ्यो। अहिले फुकुवा गर्नतिर लाग्नु पनि अर्को अवहेलनाको कुरा रहन्छ,' सभामुखले छलफलमा भने।

सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएसँगै पुस ८ गतेदेखि उनको सांसद पद निलम्बनमा थियो। 

पार्टीको जिम्मेवारीमा फर्किएपछि लामिछानेले सभामुखलाई भेटेर सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेका हुन् । 

तपाईको प्रतिक्रिया