शनिबार २७ बैशाख २०८२
समाज

सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाखभन्दा बढी रकम हिनामिना

शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट दुई करोड बढी रकम घोटाला भएको खुलेको छ। कोषको दुई करोड २१ लाख ८५ हजार ५१८ रुपैयाँ हिनामिनाको आरोपमा बहावाला दुई जना उच्च सैनिक अधिकृतमाथि नेपाली सेनाले अनुसन्धान सुरु गरेको छ । 

कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाले बहालवाला सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

सोही हिनामिनामा संलग्न दुईजना अवकाशप्राप्त सैनिकलाई भने नेपाली सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ । प्रहरीको जिम्मा लगाइएका दुई सैनिकमा अवकाशप्राप्त जमदार आत्मराम थापा र अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी छन् । 

नेपाली प्रहरीले आवश्यक छानबिन गरी थापा र अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार ‘आपराधिक विश्वासघात’ मुद्दा दर्ता गरेको छ । दायर गरिएको मुद्दामा थापा र अधिकारीविरुद्ध दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो कायम गरिएको छ । 

उक्त रकम ०७३ फागुन ९ गतेदेखि ०७५ असोज १७ गतेसम्मको अवधिमा हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । 

अभियोगपत्रअनुसार उनीहरूले ०७४ कात्तिक १३ गतेदेखि ०७५ भदौ २६ गतेसम्मको अवधिमा १४४ थान चेकमार्फत एक करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ हिनामिना गरेको देखिन्छ । 

यस्तै, ०७३ फागुन ९ गतेदेखि ०७५ असोज १७ गतेसम्मको अवधिमा ४० थान चेकमार्फत ४७ लाख ६४ हजार १८५ रुपैयाँ हिनामिना गरिएको अभियोगपत्रमा उल्लेख छ । 

सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा विमा शाखाबाट आवास तथा बिमाबापतको रकम भुक्तानी गर्दा काल्पनिक नाम समावेश गरी रकम भुक्तानी गरेको पाइएपछि नेपाली सेनाले अनुसन्धान अघि बढाएको थियो । 

सेनाले बहालवाला सैनिकमाथि आफैँ अनुसन्धान गरिरहेको छ भने अवकाशप्राप्त सैनिकमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाई अनुरोध गरिएको थियो । 

सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीले उक्त पत्र ०८१ चैत ३१ गते प्रहरीलाई पठाएको थियो । त्यसपछि प्रहरीले अवकाशप्राप्त सैनिकहरूमाथि अनुसन्धान गरी मुद्दा दायर गरेको हो । 

 

तपाईको प्रतिक्रिया