शनिबार १२ श्रावण २०८१
विचार

न सुविधा न सुरक्षा कसरी गर्ने पत्रकारिता ?

आइतबार भदौ १४, २०७७/ Sunday 08-30-20

 

एउटा सञ्चारकर्मी आफै संक्रमित भएमा त्यसले सयौंलाई सहजै संक्रमण फैलाउन सक्छ यस तर्फ राज्यकाे ध्यान खै ?

विश्वभर फैलिएको कोरोना महामारी (कोभिड-१९) को यो युद्वका मुख्य याेद्धा भनेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीनै  हुन् । स्वाभाविकनै हाे यिनीहरुनै अहिले काराेनाकाे उच्च जाेखिममा छन् । एकातिर समाज राष्ट्र र जनतालाई काेराेनाकाे उच्च जाेखिमबाट मुक्त गराउनु वा सचेत गराउनु पर्ने उत्तरदायित्व काँधमा छ अर्कातर्फ आफै ज्यानमारा काेराेनाबाट बञ्चनु छ । यसरी आफ्नै ज्यान जाेखिममा राखेर काम गर्दा न समाजले यिनीहरुलाई बुझ्न सकेकाे छ न राज्य जिम्मेवार भएर प्रस्तुत हुनसकेकाे छ  जसले गर्दा फ्रन्टलाईनमा बसेर काम गर्नेहरु अहिले समाज र काेराेना दुबैकाे ताराे बन्दै गएकाे अवस्था छ । 

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई त केही सुविधाहरु पक्कै पनि छन् । तर सबैभन्दा उपेक्षामा र समस्यामा सञ्चारकर्मीहरु छन् जाे दिन रात नभनि समाचार संकलनमा दाैडिरहेका छन् तर सञ्चारकर्मीहरुले पाउनु पर्ने राहत सुविधा केही पनि छैन । काेराेनाकै कारण कतीपय ठुला मिडिया भनिएका सञ्चारप्रतिष्ठानमा काम गर्नेहरुले जागिर गुमाउनु परेकाे छ भने काम गरिरहेकाहरुलाई पनि काेराेनाकाे उच्च जाेखिम संग जुध्नु बाध्यतानै बनेकाे छ । भन्न त राज्यकाे चाैथाे अंग भनिन्छ तर  पत्रकारलाई न सुविधा छ, न सुरक्षा छ । काेराेनाकै कारण देशका ४२ जिल्लामा निषेधआज्ञा जारी छ तर सञ्चारकर्मीहरु काेराेनाकाे रिपाेर्टिङमा दाैडेकै छन् । दैनिक समाचार संकलनका लागी बाढी पहिराे आएका ठाँउमा पुगेकै छन् । यसरी बिनाकुनै सुरक्षा आवताजावत गर्दा कति सञ्चारकर्मीहरु काेराेनाबाट प्रभावित भए हाेलान् त्यसकाे वास्तविक लेखाजाेखा कसैसंग पनि छैन । 

काेराेनाकाे रिपाेर्टिङमा फिल्डमा जाने पत्रकारलाई पिपिईसेट, मास्क, सेनिटाईजर, अनिवार्य गर्नु पर्ने हैन ?  एउटा सञ्चारकर्मी आफै संक्रमित भएमा त्यसले सयौंलाई सहजै संक्रमण फैलाउन सक्छ यस तर्फ राज्यकाे ध्यान खै ? याे संकटकाे घडीमा निरन्तर समाचार संकलनका लागी फिल्डमा खटिने पत्रकारलाई सेवा सुविधा पनि राज्यले केही दिन सकेकाे छैन । याे संकटकाे घडीमा सम्बन्धित सञ्चार प्रतिष्ठानले हाेस् वा सरकारले पत्रकार महासंघले सञ्चारकर्मीका लागी दैनिक भत्ताकाे व्यवस्थाका लागी पनि कुरा उठाउनु पर्ने हाे । सञ्चारकर्मीकाे काेराेना विमा अनिवार्य गर्नु पर्ने हाे र फिल्डमा खटिने सञ्चारकर्मीकाे हप्तै पच्छै पिसिआर परिक्षण अनिवार्य गर्नु पर्ने हैन र ? 

यस्तो गम्भिर विषयमा न कुनै पत्रकारहरुले स्वयं रिपोर्टिंग गरेका छन, न त पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले नै चासो राखेको छ । देशै भर के कति मिडिया र पत्रकारहरु छन भन्ने कुराको स्पष्ट तथ्यांक नभएको पत्रकार महासंघले राखोस पनि कसरी ? राज्यका नागरिक देखि विभिन्न संघ-संस्था, राजनीतिज्ञ, सरकार र विभिन्न क्षेत्रका विज्ञहरुलाई सधै गलत बाटो नहिड्न झकझक्याईरहने राज्यको चौथो अंग मानिएको पत्रकारिताको आफ्नै अवस्था किन यस्तो ? यो प्रश्न उठाउने कसले हो ? यसको जवाफ हामीले को बाट पाउँछौ ? राज्यका सम्बन्धीत निकायहरु किन मौन छन् ? 

पत्रकारिता भनेको अत्यन्तै निष्ठा र चोखो मानव सेवाको धर्म हो । दुरदराजमा पुगेर पत्रकारहरुले गरेका रिपोर्टिगहरुले आज कयौंको जिन्दगी बनेको छ । जसको उदाहरण मैले यहाँ पेश गरिरहनै पर्दैन । यहाँहरुले दैनिकजसो सामाजिक संजाल र युबट्युबमा देखिरहरनु नै भएको छ । कति अपराधी पक्राउने देखि, ज्यान जोखिममा परेकाको उद्दार गर्ने-गराउने र राज्यका  विभिन्न निकायहरुलाई सधैं सजक र सतर्क बनाईराख्ने पत्रकारिता पेशा किन आफै आज यस्तो अब्यवस्थित भयो ? पत्रकारिता र पत्रकार भनेका सधै अरुलाई चोरी औंला ठड्याउने पेशा र मानिसहरु हुन् । तर उनिहरुको अवस्था आज गुमनाम हुदा कसले खबर छाप्ने वा कसले सम्बन्धीत निकायलाई खबरदारी गर्ने ? यस्ता सयौं प्रश्न उब्जी रहन्छन् । 

मेरो मान्यता के हो भने, सधै अरुकै समाचार बनाईरहने पत्रकार र पत्रकारिताको अवस्थाको पनि समाचार बनाइयोस । यहाँ भित्रको अवस्था के कस्तो छ । महिला पत्रकारहरु माथि शारिरिक, मानसिक र आर्थिक शोषण छ ।  यस्ता छिटपुट घटनाहरु बाहिर नआएका त होईनन्, तर पुरुष पत्रकारहरु पनि विभिन्न बहानामा पिडीत भएका र बनाइएका छन् । समाचार लेखेको, प्रशारण र प्रकासन् गरेको भरमा भौतिक आक्रमणका धम्कीले कयौं पत्रकारले बिचमै यो पेशा त्यागेर गुमनाम हुनु परेको अवस्था छ । कति नाम चलेका पत्रकारहरु पनि ज्यान जोगाउन बिदेशीनु परेको छ त कतिले रिसिइबीका कारण ज्यान गुमाइ सकेका छन् । खोई यस्ता कुरा बाहिर आउनु पर्छ की पर्दैन ? यसमा राज्य र पत्रकारीता क्षेत्रका सम्बन्धित निकायको जिम्मेवारीता र जवाफदेहिता हुनपर्छ की पर्दैन ?

अहिल त झन् यस्तो कोरोना महामारीको अवस्था छ । विभिन्न बहानामा पत्रकारहरु गाउँ, घर, समाज र समुहमा घुलमिल भैरहेका हुन्छन् । उनिहरु आफै संक्रमित छन् की भन्ने भय छुटै हुन्छ भने, अर्को ठुलो खतरा उनिहरुको ज्यान कति जोखिममा छ भन्ने पनि हुन्छ । तसर्थ नियमन गर्ने संघ-संस्था तथा राज्यको यस तर्फ विशेष ध्यान जाओस । यो पेशामा आवद्व सबैले सधै सुरक्षित र गर्व महसुस गरुन भन्ने मेरो धारणा रहेको छ । अन्तमा फेरी पनि भन्छु यस क्षेत्रमा आवद्व पत्रकारहरु के कति संक्रमित छन् ? तिनको अवस्था के कस्तो छ ? उपचारको बातावरण र उपचार खर्चको व्यवस्था के कस्तो छ ? यावत कुराको तथ्यगत बिवरण मात्र होईन, राज्यका संबन्धीत निकायसँग माग गरि सम्पुर्ण पत्रकारहरुलाई आफ्नो जिवन सुरक्षाको प्रत्याभुत दिलाइयोस भन्ने पनि रहेको छ । 

तपाईको प्रतिक्रिया