बिहीबार १८ भदौ २०८३
बिजनेस

ग्लोबल आईएमई बैंकले १० प्रतिशत लाभांश दिने

बुधबार भदौ १७, २०८३/ Wednesday 09-02-26

काठमाडौँ । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले करसहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि बैंकको आगामी साधारणसभाबाट पारित गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।

आधुनिक प्रविधि तथा ग्राहक सेवाका क्षेत्रमा ग्लोबल आईएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ। यस्तै, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका पुरस्कार पनि बैंकले पाएको छ।

ग्लोबल आईएमई बैंक निजी क्षेत्रबाट ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन्। बैंकले देशभर १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

 

तपाईको प्रतिक्रिया