देउवा पक्षको दाबी : कांग्रेसको नाम, झण्डा र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको नाम, झण्डा र चुनाव चिह्न रूख प्रयोग गर्ने अधिकार आफूहरूसँग रहेको दाबी गरेको छ। संस्थापन पक्षले पार्टीको नाम, झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेपछि देउवा पक्षले यस्तो प्रतिक्रिया दिएको हो।
देउवा पक्षका प्रचारप्रसार समिति संयोजक तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको पहिचान, नाम, झण्डा र राजनीतिक विरासत कसैले खोस्न नसक्ने बताएका छन्।
उनले आफ्नो समूहले विधिसम्मत रूपमा महाधिवेशन गर्न लागेको उल्लेख गर्दै संस्थापन पक्षले कार्यसमिति अद्यावधिक गराएको आधारमा कारबाहीको चेतावनी दिनुको कुनै औचित्य नरहेको जिकिर गरे।
महतले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै पार्टीको रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने बताए।
उनले नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा आउने विभिन्न प्रचारबाट प्रभावित नहुन आग्रह गर्दै पार्टीसम्बन्धी विवादमा न्यायपालिकाबाट न्याय पाउने विश्वास व्यक्त गरे।
महतका अनुसार देउवा पक्षको चाहना महाधिवेशनमार्फत पार्टीका सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्नु रहेको छ।
तपाईको प्रतिक्रिया