शनिबार १२ मङ्सिर २०८३
समाज

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

शुक्रबार मङ्सिर ११, २०८३/ Friday 11-27-26

काठमाडौं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा रकम असुली गरी ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार प्रहरीको मागअनुसार अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार म्याद थपसम्बन्धी सुनुवाइका क्रममा सम्बन्धित पक्षको जिकिर सुनेपछि अनुसन्धानका लागि चार दिनको अनुमति दिइएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार नै अर्याललाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नाममा अवैध रूपमा रकम असुलेर ठगी गरेको अभियोगमा सीआईबीले उनलाई बिहीबार पक्राउ गरेको थियो।

भारतमा पक्राउ परेका अर्याललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ। उनीमाथि लागेको आरोपबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया