श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्सको फाइनलमा, भारत ‘ए’ ८ विकेटले पराजित
काठमाडौँ । ओपनरद्वय लसिथ क्रुसपुले र सिनेथ जयवर्द्धनेको शतकीय इनिङ्सको मद्दतमा श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकाले भारत ‘ए’ लाई ८ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको ३ सय १८ रनको लक्ष्य श्रीलंकाले ४१ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकाको जितमा ओपनर लसिथ क्रुसपुलेले सर्वाधिक १ सय १६ रन बनाए। उनले १ सय ७ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर सिनेथ जयवर्द्धनेले ७० बलमा १० चौका र ६ छक्काको मद्दतमा १ सय ५ रन जोडे। प्लेयर अफ द म्याच घोषित जयवर्द्धनेले क्रुसपुलेसँग पहिलो विकेटका लागि १ सय ७४ रनको साझेदारी गरेका थिए।
त्यस्तै निशान मदुष्काले अविजित ५८ रन बनाए भने कप्तान पवन रत्नायके ३१ रनमा नटआउट रहे। यी दुईले तेस्रो विकेटका लागि ५३ रनको अविजित साझेदारी गर्दै श्रीलंकालाई ५१ बल बाँकी छँदै जित दिलाए।
भारतका हर्षित राणा र शाहबाज अहमदले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो।
भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७८ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे। कप्तान तिलक बर्माले ६६ बलमा ५३ रन जोड्दा शाहबाज अहमदले अविजित ५४ रनको योगदान दिए।
त्यस्तै वैभव सूर्यवंशीले २७ बलमा ४० रन तथा तनुष कोटियनले २८ रन बनाए।
बलिङतर्फ श्रीलंकाका निपुन धनन्जय, रविन्दु फर्नान्डो र जनिथ लियानागेले समान दुई–दुई विकेट लिए। गरुका संकेथ र लाहिरु समाराकुनले एक–एक विकेट हात पारे।
यस जितसँगै श्रीलंका ‘ए’ ले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
तपाईको प्रतिक्रिया