शुक्रबार ३० असोज २०८३
प्रविधी

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, हुलाक–सिम सेवा सुरु

बिहीबार असोज २९, २०८३/ Thursday 10-15-26

काठमाडौँ । नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब दूरसञ्चार कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले ग्राहकले चाहेको स्थानमै सिमकार्ड पुर्‍याउने उद्देश्यसहित ‘हुलाक–सिम सेवा’ सुरु गरेको छ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयबाट उक्त सेवाको शुभारम्भ गरेका हुन्। नयाँ व्यवस्थाअनुसार ग्राहकले नेपाल टेलिकमको वेबसाइटमा रहेको ‘पोस्टल सिम पोर्टल’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदनसँगै आवश्यक कागजातको जाँच पूरा भएपछि ग्राहकले सिमकार्डबापत ९० रुपैयाँ र हुलाकमार्फत वितरण गर्न ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। भुक्तानी प्रक्रिया पूरा भएपछि नजिकैको हुलाक कार्यालयका कर्मचारीले ग्राहकको घरमै सिमकार्ड पुर्‍याइदिनेछन्।

सरकारले सहरी क्षेत्रमा भुक्तानी भएको दुई घण्टाभित्र र ग्रामीण क्षेत्रमा तीन दिनभित्र सिमकार्ड वितरण गर्ने लक्ष्य राखेको छ।

सेवा शुभारम्भका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए। उनले आगामी दिनमा अन्य प्रशासनिक सेवासमेत डिजिटल माध्यमबाट उपलब्ध गराउने दिशामा काम गरिने जानकारी दिए।

हुलाक–सिम सेवाले सिमकार्ड लिन कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम गर्नुका साथै सरकारी सेवाको पहुँच सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया