बुधबार ९ मङ्सिर २०८३
खेलकुद

आईपीएल अक्सनमा नेपालका १० खेलाडीको नाम दर्ता

बुधबार मङ्सिर ९, २०८३/ Wednesday 11-25-26

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सनमा सहभागी हुन नेपालका १० क्रिकेटरले नाम दर्ता गराएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार सार्वजनिक गरेको खेलाडी दर्ता सूचीअनुसार नेपालबाट १० खेलाडी अक्सनमा सहभागी हुन इच्छुक देखिएका हुन्।

आगामी अक्सनका लागि १८ देशका कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। दर्ता गर्नेमा ९३९ भारतीय र २८१ विदेशी खेलाडी रहेका छन्। भारतपछि अस्ट्रेलियाबाट सबैभन्दा धेरै ५३ खेलाडीले नाम दर्ता गराएका छन्।

एसोसिएट राष्ट्रबाट कुल ४२ खेलाडी अक्सनमा सहभागी हुन दर्ता भएका छन्। तीमध्ये अमेरिका र नेपाल तथा यूएईबाट १०–१०, नेदरल्यान्ड्सबाट तीन तथा क्यानडा, जापान र स्कटल्यान्डबाट दुई–दुई खेलाडीले नाम दर्ता गराएका छन्।

अक्सनअघि फ्रेन्चाइज टोलीहरूले १८४ खेलाडीलाई रिटेन तथा छनोट गरिसकेका छन्। अब अक्सनबाट ६६ खेलाडी अनुबन्ध गरिनेछ, जसमा २५ विदेशी खेलाडीका लागि स्थान छुट्याइएको छ।

अक्सनको अन्तिम सूचीमा समावेश हुने खेलाडीको टुंगो डिसेम्बर ४ मा लाग्नेछ।

तपाईको प्रतिक्रिया