अयोध्याबाट आएको सरयु–कमला एक्स्प्रेस आज जनकपुरधाम आइपुग्दै
काठमाडौँ । भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने सरयु–कमला एक्स्प्रेस रेल आज जनकपुरधाम आइपुग्ने भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा हिजो अयोध्या–जनकपुर रेल सेवाको उद्घाटन गरिएको थियो। अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेलका उच्च अधिकारीहरूले बिदाइ गरेको रेल आज बिहान १० बजे जनकपुरधाम पुग्ने कार्यक्रम रहेको छ।
नयाँ रेलको स्वागतका लागि जनकपुरधाममा विशेष तयारी गरिएको छ। करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
निर्धारित तालिकाअनुसार रेल सेवा सातामा एक पटक दुईतर्फी सञ्चालन हुनेछ। प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट छुटेर जनकपुरधाम आइपुग्नेछ।
यसैबीच, कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न जाने श्रद्धालु भक्तजनको सुविधाका लागि नेपाल रेल्वे कम्पनीले आज जयनगर–जनकपुर–भङ्गहा रेलखण्डमा विशेष रेल सेवा सञ्चालन गर्ने भएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गर्दै यात्रुको चाप र आवश्यकताअनुसार आज एक दिन विशेष रेल सेवा सञ्चालन गरिने जनाएको छ।
कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार कमला नदीमा स्नान गर्न जाने श्रद्धालुको आवागमन सहज बनाउन विशेष सेवा सञ्चालन गर्न लागिएको हो।
धनुषा, सिरहासहित विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन कमला नदीमा पुग्ने भएकाले उनीहरूको यात्रालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
तपाईको प्रतिक्रिया